ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै
बाग्लुङ | कात्तिक ६, २०७९
बागलुङ । बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो ।
अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत खुसी भएका छ । ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो ।
यो सडकको २०६३ सालमा ट्र्याक खुलेको थियो । सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो । सडक स्तरोन्नतिका लागि जागृति निर्माण सेवाले रु एक करोड ६३ लाखमा जिम्मा लिएको सडक डिभिजन कार्यालय बागलुङको सवइञ्जिनीयर विजय शर्माले जानकारी दिनुभयो ।
निर्माण कम्पनीले सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरेरे काम थालेको उहाँको भनाइ छ । अहिलेदेखि नै काम सुरु भएको भन्दै इञ्जिनीयर शर्माले माघ महिनासम्म स्तरोन्नतिको कार्य सम्पन्न हुने बताउनुहुन्छ ।
“सडक स्तरोन्नतिका लागि सम्झौता भएर काम सुरु भएको छ, निर्माण कम्पनीले तीव्ररुपमा काम गरेको छ, माघ महिनासम्म सक्नेगरी सम्झौता भएको छ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “ग्रामीण सडक हो, अलिकति अप्ठ्यारो पनि रहेछ, निर्माण कम्पनीले रु एक करोड ६३ लाखमा सम्झौता गरेको छ, माघमै काम सक्छौँ भनेको छ ।”
उहाँले यसपटक सडकलाई नौ मिटर चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गरिने बताउनुभयो । सडकको केही खण्डमा निकै अप्ठ्यारो रहेको भन्दै पुरानो रुट परिवर्तन गरी नयाँ खोल्नुपर्ने भएको उहाँको भनाइ छ । अहिले तीन किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी रहेको बताउनुभयो ।
“सडक निकै साँघुरो छ, यसलाई नौ मिटर चौडा गर्नु पर्नेछ, सडक तलदेखि वाल उठाउने र नाली निर्माण पनि हुने, केही ठाउँ निकै अप्ठ्यारो भएको हुँदा ५०० मिटरजति सडकको रुट नै परिवर्तन गरेर नयाँ खोल्नुपर्ने भएको छ”, उहाँले भन्नुभयो ।
यो सडक स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–७ मल्मकी स्थानीय ललिता थापाले बताउनुभयो । सडक निकै साँघुरो र खाल्डाखुल्डी रहेको हुँदा दुर्घटनाको जोखिमसमेत बढेको उहाँको भनाइ छ । स्तरोन्नति यात्रा र सामान ढुवानी गर्न सहज हुने बताउनुहुन्छ ।
“यो सडक खुलेको धेरै वर्ष भयो अहिलेसम्म साँघुरो छ, स्तरोन्नति हुन सकेको थिएन, अब हुन्छभन्दा निकै खुसी लागेको छ, सडक भरी खाल्डाखुल्डी छन्, साँघुरोसमेत रहेको हुँदा दुर्घटनाको जोखिम निकै थियो”, थापाले भन्नुभयो, “अब यात्रा गर्न सजिलो हुने भयो, सडक देख्दा गाडीमा यात्रा गर्न पनि डर हुन्थ्यो, अब सरर हुने भयो ।”
थापाले असारदेखि असोजसम्म सडक अवरुद्ध हुने गरेको भन्दै अब बाह्रै महिना सञ्चालन हुने अपेक्षा गर्नुभयो । बर्खामा गाडी नचल्दा गाउँलेले सामान बोकेर उपभोग गर्नुपरेको बताउनुभयो । अब यो समस्याको समाधान हुने थापाको भनाइ छ । “यो वर्ष पनि असारदेखि बन्द भएको सडक दसैँ अगाडि मात्रै खुलेको हो, यो सडक खुलेदेखि अहिलेसम्म बाह्रै महिना गाडी चलेको छैन”, थापाले भन्नुभयो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

